शेयेर गर्नुहोस
धनगढी । धनगढीमा दसैँ तिहार लक्षित ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले दसैँ तिहारलाई लक्षित गर्दै धनगढीमा आज सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना कार्यक्रम गरेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको आयोजना र सुदूरपश्चिम यातायात मजदुर भलाई कोष समिति, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, नेपाल यातायात मजदुर सङ्घ, सेती महाकाली ट्रक व्यवसायी सङ्घ लगायत धनगढी उपमहानगरपालिकामा रहेका यातायात प्रा।लि।को सहकार्यमा उक्त कार्यक्रम गरिएको हो ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नजिकिँदै गरेको नेपालीहरूको महान् चाडपर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
दसैँ तिहार नजिकिए सँगै दुर्घटना न्यूनीकरण र ट्राफिक सचेतनाका लागि आज कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक वीरेन्द्र बहादुर बोहराले जानकारी दिए ।
उनले कैलालीका विभिन्न ठाउँमा यात्रु सहायता कक्ष स्थापना गर्ने समेत बताए । बसपार्क, टिकट काउन्टर, अन्य भीडभाड हुने स्थल तथा यात्राको क्रममा कोरोना सङ्क्रमण नियन्त्रणको लागि अपनाउनुपर्ने स्वास्थ्य मापदण्डको पालना भए नभएको चेकजाँच एवं अनुगमन गर्ने, पूर्ण पालना गर्न लगाउने र सचेतना समेत जगाउने प्रहरी निरीक्षक बोहराको भनाई छ ।
सचेतनाका लागि ४ हजार भन्दा बढी पर्चा पम्पलेटहरु वितरण गरिने समेत आफूहरूको लक्ष्य रहेको उनले बताए । अन्य समय भन्दा चाडबाडका बेला सवारी दुर्घटना बढी हुने गरेको भन्दै चालक, सहचालक र सरोकार वालाहरुलाई लक्षित गर्दै ट्राफिक सचेतना कार्यक्रमको आयोजना गरिएको सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदमराज सापकोटाले बताए ।
उनले सम्पूर्ण चालकहरूलाई आफ्नो सवारीसाधनलाई चेकजाँच गरेर मात्रै सञ्चालन गर्न आग्रह गरे ।
यस्तै ट्राफिक सचेतना कार्यक्रममा विभिन्न वक्ताहरूले ट्राफिक प्रहरीले चिट मात्रै नकाटेर सवारीको अवस्था, यात्रुहरूको चाप लगायत दुर्घटना न्यूनीकरणका उपाय बारे जानकारी गराउने काम समेत गर्नु पर्ने बताएका थिए ।