कैलालीका थारु बस्तीमा सखिया नाचको रौनक

शेयेर गर्नुहोस

गणेश चौधरी,

टीकापुर । दसैं भित्रिएसँगै पश्चिम तराईका थारू बस्तीमा सखिया नाचको रौनक छाउन थालेको छ । साझ पर्नेबित्तिकै प्रायः सुनसान हुने थारू बस्तीमा अबेर रातिसम्म मादल घन्केर चहलपहल बढिरहेको छ ।


कैलालीको टीकापुर नगरपालिका–१ बनगाउँकी मीना चौधरीलगायत उनका साथीसंगी दिनभरि आफ्ना काममा व्यस्त भए पनि साँझपख भने एकै ठाउँ जम्मा हुन्छन् । उनीहरू गाउँका बडघरको आँगनमा पुग्छन् र प्रत्येक साँझ सखिया नाच्छन् । उनीहरूले दसैं आगमनसँगै सखिया नाच्न सुरु गरेका हुन् ।

‘सखिया नाच्ने अधबैंसे र तन्नेरी युवायुवती सबै हुन्छौं,’ मीना चौधरीले भनिन्, ‘यसले हाम्रो सांस्कृतिक परम्परा एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण पनि हुन्छ ।’ लोप हुँदै गएको थारू संस्कृति जोगाउन पढेलेखेका युवायुवती पनि सखिया नाचमा सहभागी भएको उनले बताइन् । उनले भनिन्, ‘सखिया नाच हुने संस्कृतिका रूपमा मात्र होइन, आर्थिक रूपमा पनि समृद्ध हुने मान्यता थारू समुदायमा छ । यसैले प्रत्येक घरबाट सखिया नाचका लागि युवायुवती सहभागी हुनुपर्ने भनिएको छ ।’

थारू बस्तीमा सखिया नाचको मादल बज्न थालेपछि दसैं आएको आभास हुने वनगाउँका चमन चौधरीले बताए । उनले भने, ‘सखिया नाच नभएपछि गाउँमा दसैं आएको हो कि होइन पत्तो नै हुन्न ।’ थारू भाषामा सखीको अर्थ साथीसंगी हुन्छ । गाउँका सबै साथीसंगी मिली नाचिने भएकोले यसको नाम सखिया हुन गएको चमनले बताए । दसैंको टीकाको दिनसम्म युवायुवती मिलेर नाचिने सखिया नाचले थारू गाउँको एकताको भावना प्रकट हुने पनि चमनले बताए । ‘नाचको बहानामा सबै मान्छे भेला हुने भएकाले गाउँको विषयमा छलफल र भावना साटासाट पनि हुन्छ,’ उनले भने ।

थारू गुरुवाले नाचमा प्रयोग हुने मादल मंजीरालगायतका सामानको पूजा गरेपछि थारू महिलाले सखिया नाच्न सुरु गर्छन् । नाचमा कुनै बाधा अवरोध नहोस् भनेर नाच सुरु हुनुभन्दा पहिले पूजा गर्नुपर्ने चमन बताउँछन् । उनले भने, ‘यो नाचमा दुष्टात्माको भवितव्यबाट बचाउनका लागि गुरुवाले गाउँको देउताको पूजा गर्छ । गाउँका बडघर र भद्र भलादमी यसका संरक्षक हुन्छन् ।’ सखिया नाच्ने युवतीले सेतो रंगको फरिया र रातो रंगको चोलिया लगाउने गर्छन् । केटाले भने सेतो रंगको धोती र रुचिअनुसारको रंगको कमिज लगाउने गर्छन् ।

थारू समुदायले विवाहमा दुलहीलाई सेतो फरिया लगाइदिन्छन् । त्यही फरिया नाच्नमा प्रयोग हुने जानकी गाउँपालिका–६ का लालवीर चौधरी बताउँछन् । ‘यो नाचमा थारू युवतीले नाच्ने र युवाले मादल बजाउने गर्छन् । नाचमा जति धेरै मादल बज्छ त्यति नै रौनकता छाउँछ,’ उनले भने । उनका अनुसार यो नाचका लागि कम्तीमा ३र४ जना मादले युवा हुनैपर्छ । सखिया नाच्ने युवतीहरूले मुख्य मादलेको मादल रंगीविरंगी कपडाले सजाइदिने चलन पनि छ ।

सखिया नाचमा भगवान् कृष्णको जीवनमा आधारित गीत गाइने जानकी गाउँपालिका–३ की सुनकेशरी चौधरीले बताइन् । उनले भनिन्, ‘भगवान् कृष्णको जीवन कथामा आधारित गीत नसकिएसम्म नाच सकिँदैन । गीत सकिएपछि मात्र नाच सकिन्छ ।’ सखिया नाच सुरु भएपछि थारू बस्तीमा दसैंको चहलपहल सुरु भएको नरेश चौधरीले बताए । उनले भने, ‘सखिया नाच हुँदा छुट्टै उत्साह र उमंग हुन्छ ।’

अरू दिन गाउँको बडघरको घरमा सबै जम्मा भई नाचिने यो नाच दसैंमा भने गाउँका सबैका घरमा नाच्ने चलन छ । घरमा नाच्न गएपछि घरमुलीले गच्छेअनुसारको दाम दिई पठाउने गर्छन् । सखिया नाचिने थारू गाउँमा दसैंभरि निकै रौनकता हुन्छ । दिनभरिको काम भ्याइसकेपछि साँझपख नाचिने यो नाच दसैंका दिन भने दिनभरि नाच्ने गरिन्छ । सखिया नाच सकिएपछि जम्मा भएको पैसाले सबै मिली नदीबाट मारेर ल्याएको माछा र अन्य परिकार तयार पारी खान्छन् । खाने बेला गुरुवाले पूजाआजा गर्ने, गाउँको बडघर र मान्यजनसँग बसेर भोज खाने गर्छन् र नाच सकिन्छ ।

ताजा खबर

कैलालीमा एकको हत्या, हत्याको आशंकामा श्रीमति सहित ४ पक्राउ

आज टीका, लगाउने साइत कतिबेला ?

नेपाल पहिलो पटक साफ च्याम्पियनसीपको फाइनलमा

बैतडीमा अष्टमीका दिन ४२४ राँगाको बलि

amazed