शेयेर गर्नुहोस
काठमाण्डौ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ ।
निर्वाचन समितिले सार्वजनिक गरेको कार्यक्रम अनुसार नेतृत्व चयनका लागि मंसिर २७ गते मतदान हुनेछ ।
त्यसअघि महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशन मंसिर २४ गते बिहान १० बजे हुनेछ भने उम्मेदवारको मनोनयन दर्ता मंसिर २५ गते बिहान १० देखि ५ बजेसम्म हुने निर्वाचन समितिले जनाएको छ ।
यस्तै दावी विरोधको समय मंसिर २५ गते बेलुका ७ देखि ९ बजेसम्म राखिएको छ भने उम्मेदवारको पहिलो नामावली प्रकाशनको समय मंसिर २५ गते राति ९ देखि १२ बजेसम्म तोकिएको छ । यस्तै मनोनयनपत्र फिर्ताका लागि मंसिर २६ गते बिहान ११ बजेसम्मको समय दिइएको समितिले जनाएको छ ।
त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर मंसिर २७ गते बिहान ८ बजेदेखि मतदानको कार्यक्रम तय गरिएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।
निर्वाचन सम्पन्न भएपछि पहिले सभापति पदको मतगणना हुनेछ । निर्वाचनसम्बन्धी सबै कार्यक्रम राष्ट्रिय सभा गृहमा हुनेछ ।