शेयेर गर्नुहोस
काठमाडौं । आकर्षक रोजगारीको प्रलोभनमा परेर दलालमार्फत दुबई गएका ११८ नेपाली युवा अलपत्र परेका छन् । पटक–पटक गरेर चाररपाँच महिनाअघि मनग्य तलबसहित आकर्षक जागिर पाउने आशामा भिजिट भिसामा दुबई आइपुगेका युवा अलपत्र परेका हुन् । यसरी आएकामध्ये ४ दर्जनभन्दा बढी युवा नेपाली सेनाको जागिर छाडेर आएका हुन् भने कोही सेनाकै अवकाश प्राप्त छन् । आफूलाई भिजिट भिसामा दुबई ल्याएर काम लगाउँछु भन्दै बिचल्ली बनाउने टिमका मुख्य नाइके कोमलराज उपाध्याय रहेको पीडितको भनाइ छ । उपाध्याय त्रिनेत्र कन्सल्टेन्सीका मालिक हुन् ।
उनको मुख्य संलग्नतामा अन्य दलालहरु खगेन्द्र लम्साल, राजन ठकुरी, भुपेन्द्र बोहोरा, आदित्य रसाइली, होम बहादुर खड्का, सिम्रन रसाईलीले दुबईको विभिन्न कम्पनीमा कामदार माग गरिएको भन्दै नक्कली मागपत्र बनाई युवाहरुलाई झुक्याएर दुबई ल्याएका थिए ।दुबईस्थित अलफैदीमा कार्यालय रहेको त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सीका मालिक उपाध्यायसहितको टिमले प्रतिव्यक्ति १ लाख ७० हजार देखि ८ लाख रुपैयाँसम्म असुल गर्ने गरी यी युवालाई भिजिट भिसामा दुबई ल्याएका हुन् ।केही पीडित युवाले कुल लाग्ने रकमको आधा अर्थात् करिव ४ लाख रुपैयाँ नेपालमा तिरेको र बाँकी रकम अफर लेटर आएपछि तिर्ने सहमतिमा दुबई आएको बताए ।
उनीहरुले त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सीका मालिक कोमलराज उपाध्यायको श्रीमती रन्जना ढकाल प्याकुरेलको नाममा रहेको प्रभु बैंकको खातामा नेपालमै रकम जम्मा गरेका थिए ।दुबई आएको लामो समय भए पनि पीडित युवाहरु र दलालबीच सहमति भए अनुसारको काम नभएपछि मात्र उक्त समस्या बाहिर आएको हो । त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सीका मालिक उपाध्यायले आर्म्स गार्डमा काम लगाइदिन्छु भन्दै यहाँ ल्याएपछि बन्धक बनाएर राखेको पीडित श्रीराम रानाभाटले बताए ।
यसरी आएकामध्ये धेरैजसोको भिसा अवधि समाप्त भएको उनले जानकारी दिए । ‘पासपोर्ट माग्दा धम्क्याउँछ, हामीसँगै दुबई आर्मी, सुरक्षा गार्ड (सेक्युरिटी) का लागि नेपालबाट आएका अन्य साथीहरु पनि छन् । उता जागिर छाडेर यता आइयो । यहाँ आएपछि बिचल्ली भयो ।