शेयेर गर्नुहोस
टीकापुर । नागरिक उन्मुक्ति पार्टीका तर्फबाट जानकी गाउँपालिकाका अध्यक्षका उम्मेदवार गणेश चौधरी बुवा दिबुवा चौधरी र आमा बासमति चौधरीको कोखबाट २०३३ साल फागुन १८ गते जानकी गाउँपालिका वडा नम्बर ३ सुवर्णपुरमा जन्मिएका हुन ।
गाउँकै भृकुटी प्राविबाट प्राथमिक शिक्षा, महेन्द्र शीशु माविबाट निम्न माध्यामिक र वीरेन्द्र विद्या मन्दिर मावि टीकापुरबाट एसएलसी गरेका हुन । आरआर क्याम्पस काठमाडौंबाट बीए पास गर्नु भएका चौधरीले पूर्वाञ्चल विश्वविद्यालयबाट आम सञ्चार र पत्रकारितामा स्नात्तकोत्तर सम्मको अध्ययन गरेका छन् ।
२०५६ सालदेखि कैलालीलाई कार्यक्षेत्र बनाई पत्रकारिता थाल्नु भएका चौधरी समाचार, लेख, पुस्तक लेखन र नेतृत्वमा सक्रिय छन् ।
काठमाडौंबाट पत्रकारिता शुरु गर्नु भएका चौधरीले टीकापुरबाट आफै प्रकाशक÷सम्पादक भएर हाम्रो परिचर्चा साप्ताहिक, अद्र्धसाप्ताहिक, दैनिक रुपमा पाँच वर्ष प्रकाशन गरे ।
पछिल्ला २० वर्ष कान्तिपुर दैनिकको सम्वाददाताको रुपमा काम गरेका छन् । टीकापुरमा समुदायको तर्फबाट स्थापना भएको सामुदायिक रेडियो टीकापुर एफमको स्थापनाकालमा प्रवन्ध निर्देशक रहेर संस्था स्थापना र सञ्चालनमा योगदान गरेका छन् ।
मिडिया व्यक्तिगत प्रभावले होइन नागरिकले आफै चलाउने र आफ्नो आवाज आफै बोल्न पाउने हुनुपर्छ र पत्रकारले पछाडि पारिएको समाजको पक्षधर र उच्च पदस्थहरुको गलत कार्यका विरुद्ध कलम चलाउछु भनेर काम गर्नुपर्छ भन्ने मान्यता चौधरीको छ ।
यस्तै भावनाका साथ चौधरीले जीवनका २० वर्ष यही खर्चिएका छन् । दुई दशक लेखन पेशामै बिताएका चौधरीले वादी, राजी, मुक्त कमैंयाँ जस्ता सिमान्तकृत समुदायका बारेमा समाचार लेखन अध्ययन अनुसन्धान गरेका छन् भने थरुहट आन्दोलन टीकापुर घटनाका विषयमा पुस्तक नै प्रकाशन गरेका छन् ।
खोज पत्रकारिता, मानव अधिकार, नेतृत्व विकास, द्वन्द्व व्यवस्थापन, शान्तिका लागि संवाद , सामुदायिक मध्यस्तता जस्ता विषयगत तालिम लिनुभई समाजका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका छन् । चौधरीले आफ्नो जीवनकालमा नेतृत्वको पनि अनुभव बटुलेका छन् ।
उनीसित नेपाल पत्रकार महासंघका विभिन्न पदमा रहनुका साथै सामुदायिक रेडियो प्रसारक संघको केन्द्रीय सदस्य, आदिवासी जनजाति पत्रकार महासंघको केन्द्रीय उपाध्यक्ष समेत भई संस्था परिचालन र नेतृत्वको अनुभव छ भने विभिन्न सामाजिक संस्थाका पदमा रहेर संस्था र संगठन प्रणालीका बारेमा ज्ञान छ ।
पत्रकारिता कर्म गरिरहँदा समाजको आँखाले पनि राम्रै मुल्यांकन गरेको छ । गणेशको पत्रकारिता कर्मको मुल्यांकन गर्दै प्रेस काउन्सिलले प्रदान गर्ने युवा पत्रकारिता पुरस्कार, नेपाल पत्रकार महासंघबाट उमासिह स्मृति पत्रकारिता पुरस्कार, थारु पत्रकार संघले प्रदान गर्ने थारु पत्रकारिता पुरस्कार लगायत थुप्रै संघ संस्थाबाट पुरस्कार दिइएको छ ।
राजनीतिक रुपमा तटस्थ रहनुपर्ने पत्रकारिताको सिद्धान्त अनुसार राजनीतिभन्दा माथि उठेर पेशागत मर्यादामा बसेका चौधरी पछिल्लो समय जातजातिको अधिकारका पक्षमा आकर्षक नारा दिएको नेकपा माओवादी केन्द्रमा आकर्षित भएपछि थारु मुक्तीमार्चोको जिल्ला उपाध्यक्ष भएर छोटो समय काम गरेपछि स्थानीय तह निर्वाचन २०७९ आउदै गर्दा थारु तथा पछाडि परेको समुदायको हक अधिकारका लागि नागरिक उन्मुक्ति पार्टी गठन भएपछि यही पार्टीबाट जानकी गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनेका छन् ।
पत्रकारितामा रहेर हमेशा समाजका राम्रा पक्ष र नराम्रा पक्षको निगरानी गरिरहेका चौधरीले राम्रा पक्षलाई आत्मसात गरिरहेको र स्थानीय तहको निर्वाचनमा निर्वाचित भएमा नराम्रा पक्षबाट जोगिदै, राम्रा पक्षहरु अंगालेर अघि बढने प्रतिवद्धता गरेका छन् ।
(यो समाचार अनुमोदन खबर बाट लिइएको हो ।)