शेयेर गर्नुहोस
टीकापुर । कैलालीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका छन् ।
सोमबार जिल्लाको बर्दगोरिया गाउँपालिका १ स्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ७ ख ५७४ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको से ३ प ९५१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले बताएको छ।
दुर्घटनामा मोटरसाइकलमा सवार धनगढी उपमहानगरपालिका ५ का ३१ वर्षीय रोशन सिंह र डोटीका ३० वर्षीय टेक खड्का घाइते भएका छन् ।
सिंहलाई स्थानीय बर्दगोरिया अस्पतालमा सामान्य उपचारपछि नेपालगञ्ज रेफर गरिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरिक्षक प्रविण धितालले जनाएका छन्। त्यस्तै खड्कालाई धनगढीस्थित निसर्ग अस्पताल ल्याइएको छ।
दुवैको अवस्था गम्भीर रहेको बताइएको छ। बस चालक दैलेखको गुराँस गाउँपालिका ४ का २६ वर्षीय आकाश खड्कालाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ।















