शेयेर गर्नुहोस
टीकापुर । विप्लव निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले विनोद जप्रेल सङ्गठनको कुनै जिम्मेवारीमा नरहेको जनाएको छ ।
शनिवार एक विज्ञप्ति निकालेर क्रान्तिकारीले जप्रेललाई कारबाही गरेको जनाएको हो । इन्चार्ज महेश पातलीद्वारा हस्ताक्षरित विज्ञप्तिमा जप्रेललाई आर्थिक अनियमितता, साङ्गठनिक अराजकता र पार्टी तथा सङ्गठनको गोपनीयता उल्लङ्घन गरेको भन्दै सबै जिम्मेवारीबाट मुक्त गरेर निलम्बन गरिएको स्पष्ट पारिएको छ ।
अखिल क्रान्तिकारीले पार्टी तथा सङ्गठनको नाम नबेच्न जप्रेललाई चेतावनी दिएको छ । विज्ञप्तिमा भनिएको छ“ हाम्रो गौरवशाली सङ्गठन अखिल (क्रान्तिकारी) आन्तरिक र बाह्य देशी होस् या विदेशी हरेक चलखेल र षड्यन्त्रका विरुद्ध न्याय र समानताका पक्षमा निर्मम भएर उभिएको विषय सर्वविदितै छ ।” यसै सन्दर्भमा हाम्रो सङ्गठनको जिम्मेवारीमा रहेका विनोद जप्रेललाई केही समय पहिला देखि एरिया पार्टीले आर्थिक अनियमितता, सांगठानिक अराजकता, पार्टी तथा सङ्गठनको गोपनीयता उलङ्घन गरेको, जिम्मेवारी पूरा नगरेको जस्ता अराजक गतिविधि गरेको कारण कुनै पनि जिम्मेवारीमा नरहने गरी निलम्बन गरेको कुरा स्पष्ट पार्न चाहन्छौ ।
फेरी त्यही व्यक्ति हाम्रो सङ्गठन र पार्टीको नाम बेचेर पदको बार्गेनिङ गर्दै बहुमत पार्टीमा प्रवेश गरेको विषयले सङ्गठनलाई गम्भीर बनाएको छ । “सङ्गठनको विरुद्ध अनावश्यक र कपोकल्पित भ्रमहरू छर्दै फट्याइँ गरी पार्टी र सङ्गठनको नाम बेचेर आफ्नो बार्गेनिङ पूरा गर्ने जोकरहरूलाई आफ्नो स्वार्थको गाग्री भर्न हाम्रो सङ्गठन र पार्टीको नाम नबेच्न चेतावनी दिन चाहन्छौ । यस्ता अफवाह तथा कपोकल्पित भ्रमको पछाडि नलाग्न सम्पूर्ण क्रान्तिकारी युवा विद्यार्थी तथा जनसमुदाय प्रति सङ्गठन हार्दिक अनुरोध गर्दछौँ । बिज्ञप्तीमा उल्लेख छ ।