कैलालीको टीकापुरस्थित सिमा नजिकको जग्गामा नेपालीहरुकै एकआपसमा विवाद चर्किदै

शेयेर गर्नुहोस

यज्ञराज उपाध्याय, टीकापुर । टीकापुर नगरपालिका वडा नं. ८ खक्रौला मोहना नदी पारीको नेपाली जमिनको विषयलाई लिएर विवाद उत्पन्न भएको छ । नदी पारी नेपाल-भारत सिमा संगै जोडिएको जमिनका लागि नेपालीहरु नै आपसमा विवाद गरिरहेका छन् ।

नेपालको भएता पनि भारतीय पञ्जाबीले हक जमाउदै आएको जमिन जसोतसो केही वर्षदेखि नेपाली आफैले भोगचलन गर्दै आएका छन् । उक्त विवादित सरकारी जमिनका लागि दुई पक्ष झगडा गरिरहेका छन् ।

पञ्जाबीसँग जग्गा छुट्याएर विगत १२ वर्षदेखि आफुले भोगचलन गरिरहेको जगत साउँद पक्षको दाबी छ । साउँदले २०२२ सालदेखि आफ्नो बुवाको पुर्खौली जमिन रहेकोमा पछि जग्गामा नदी पसेको र त्यसपश्चात पञ्जाबीले हक जमाएर समस्या भएको बताए । सिमासँग जोडिएकाले पनि पञ्जाबीहरुसँग आफ्नो देशको जमिनका लागि भिड्ने हिम्मत कसैले नगरेको बताउदै उनले पछि सिमाको जग्गा सहमतिमा जसोतसो उनीहरुबाट छुट्याएको बताए ।

उनले सबै मिलेर पञ्जाबीहरुबाट जग्गा छुट्याउँ भन्दा कोहि नआएको र अहिले जग्गा राम्रो देखेपछि केही मान्छे जबर्जस्ती गरिरहेको दाबी गरे । “पहिले भारतीय पञ्जाबीले हातहतियार लिएर नेपाली जमिन कब्जा गरेका थिए, सिमासँग जोडिएकाले पनि कसैले पनि उनीहरुबाट आफ्नो देशको जमिन आफैले उपभोग गर्न पाउनुपर्छ भन्नेसम्म आँट गर्न सकेनन्, पछि सहमतिमा जसोतसो छुट्याइयो, खरले पुरै जंगल भएको थियो त्यो पनि फाडियो,” साउदले भने, “अहिले जग्गा राम्रो देखेपछि शक्तिको आडमा कब्जा गर्न खोजिदै छ त्यसैले विवाद उत्पन्न भएको हो ।”

धेरै परिवारले मिलेर छुट्याउदै उपभोग गरिरहेको जग्गामा मिर्गेन्द्र स्वार, सर्बन थापा पक्षले हक जमाउन खोजेको अर्का भोगचलनकर्ता दिपक रेग्मीले बताए । उनले आफुले किनेको हो भन्दै लगाएको उखुबारी पनि जोतिदिएको भन्दै अहिले हक जमाउन खोज्दा विवाद उत्पन्न भएको जानकारी दिए ।

आफ्नो ८ विगाहा जग्गा रहेको बताउदै रेग्मीले बेच्ने भनिएका लाल बहादुर कोठारीको नाममा पनि जग्गा नरहेको र कागजसमेत केही नबनाएकाले आफ्नो व्यक्तिगत लेनदेनमा जग्गा हडप्न खोजिएको दाबी गरे । रेग्मीले अर्कालाई ठेक्का दिदै सो कागज देखाएर षडयन्त्रपुर्वक जोर जबर्जस्ती गरेर जमिनमाथि उक्त पक्षले दाबी गरेको दुखेसो पोखेका छन् । “हामी धेरै परिवारले जग्गा भोगचलन गरिरहेका छौं, साउँद र म गरेर जग्गा छुट्यायौं, ८ विघा जमिन म र मेरो अंकलले उपभोग गर्दै आएकामा अहिले मिर्गेन्द्र स्वार र सर्बन थापा पक्षले आफ्नो रहेको, आफुले किनेको भन्दै षड्यन्त्रपुर्वक अर्कालाई ठेक्का दिएको कागज देखाएर जबर्जस्ती गर्दै छन,” उनले भने, “जग्गा बेचेको भनिएका लाल बहादुर कोठारीको नाममा पनि जग्गा नरहेको र उनले जग्गा बेचेको कागज पनि नदिएको अवस्थामा अहिले यो पक्षले जबर्जस्ती गर्दै हाम्रो उखुबारी पनि जोतेका छन्, अब वडामा छलफल भएपछि न्यायसंगत निर्णय हुनेमा आशावादी छौं ।”

यता जग्गामा दाबी गरेको आरोप लगाइएका मिर्गेन्द्र स्वारले भारतीय पञ्जाबीलाई आफुले लखेटेको बताएका छन् । पञ्जाबीहरुले दादागिरी गर्न थालेपछि लाल बहादुर कोठारीले बस्न डर भयो, जग्गा बेचेर जान्छु, सहयोग गर्नुपर्यो भनेपछि आफुले १५ हजार रुपैयाँ दिएको स्वारले बताए । २०/२२ सालतिर त्यहाँ बसिरहेका मान्छेसमेत डरले भागेपछी पञ्जाबीहरुले हक जमाएर उक्त जग्गा उपभोग गर्दै आएको जानकारी दिदै पछि कोठारीले जग्गा छोडेर गएपछि २०४७ सालमा आफुले पाँच वर्षका लागि ठेक्कामा दिएको र त्यसको प्रमाण पनि भएको स्वारको दाबी छ ।

अहिले खिमडाका मान्छेले उक्त जग्गा आफ्नो भएको दाबी गरेपछि चुप बस्न नसकिने र त्यो जग्गा आफ्नै भएको बताएका छन् । “लाल बहादुर कोठारीले पहिले त्यो जग्गा भोगचलन गर्दै आउनुभएको थियो तर पछि पञ्जाबीको दादागिरी बढ्न थालेपछि उहाँले जग्गा बेचेर अन्तै जाने कुरा अर्को मान्छेमार्फत भन्नुभयो तर मैले सिमानाको जग्गा नलिने भनेपनि ज्यान जाने भन्दै सहयोग गर्न आग्रह गरेपछि १५ हजार रुपैयाँ मैले गनेर दिएको हुँ, त्यसपछि मैले पाँच वर्षका लागि ठेक्कामा दिएँ २०४७ सालको त्यो कागज पनि छ म सँग,” उनले भने, “होला खिमडाका मान्छेको जग्गा उता तिर तर मेरो जग्गामा अहिले दाबी गर्दै कराइरहेका छन्, जग्गाको लोभ मलाई छैन तर आफ्नो जग्गा त छोड्ने कुरा भएन नि ।”

यता प्रहरी चौकी कालाकुण्ठाका प्रमुख प्रहरी नायव निरीक्षक (सइ) डेनि स्वारले खासै विवाद नभएको भन्दै वडाध्यक्ष लौटन चौधरी काठमाडौंबाट आएपछी सबैको बसेर छलफल गरेपछि विवाद समाधान हुने बताए । उनले केही विवाद देखिएपनि वडाध्यक्ष नआउन्जेल चुप बस्ने सहमति पछि अहिले विवाद नरहेको बताए । सइ स्वारले भने “अहिले त्यस्तो विवाद केही छैन, वडाध्यक्ष काठमाडौं पुगेपछी सबै बसेर छलफल हुन्छ त्यसपछि समस्या समाधान भइहाल्छ ।”

नदी पारीको नेपालको क्षेत्रभित्र पर्ने उक्त जग्गा सबै ऐलानी हो । केही वर्ष अघि ४ मात्र बिघा जमिन छुट्याएर सशस्त्र प्रहरीले बिओपी कार्यालय विस्तार गरेर बस्न सुरु गरेपछि अहिले धेरैले उक्त ठाउँको जग्गामा दाबी गर्दै आइरहेका छन् । उपभोग गरिरहेका नेपालीका अनुसार उक्त ठाउँमा करिब ४० बिघा जति जग्गा रहेको छ ।

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *