व्यक्तिगत जग्गामा टीकापुर नगरपालिकाको रजाइँ, जग्गाधनीलाई जानकारी नदिएरै बनाइदियो सडक

शेयेर गर्नुहोस

यज्ञराज उपाध्याय, टीकापुर । कैलालीको टीकापुरमा व्यक्तिको जग्गा मिचेर सडक बनाइएको पाइएको छ । जिल्लाको टीकापुर नगरपालिका वडा नं. ४ अस्नेहरीमा नम्बरी जग्गामाथि नगरपालिकाले सडक बनाएको जग्गाधनीको आरोप छ । बाघमारा जाने सडकमा कित्ता नं. ३५२६ रहेको दिपा देवी साउदको ६ धुर जग्गामा सडक बनाइएको हो ।

जग्गाधनी दिपा देवी साउदले आफ्नो ६ धुर जग्गामा नगरपालिकाले सडक कालोपत्रे गरेर आफुमाथी अन्याय भएको बताउनुभयो । उहाँले नगरपालिकाले केही वर्ष आफ्नो जग्गामा सडक कालोपत्रे गरेपछि आफू सुकुम्बासी सरह भएको दुखेको पोख्नु भयो । २०७१ मा नौले साउदबाट १४ धुर भन्दै ३ लाखमा किनिएको जग्गा ६ धुर मात्र देखिएपनि घर बनाउने योजनासहित उक्त ठाउँमा पुग्दा सडक बनेको देखिएको बताउदै यस विषयमा नगरपालिका लगायत सम्बन्धित निकायमा १ वर्ष अघि नै निवेदन दिए पनि अहिलेसम्म कुनै सुनुवाइ नभएको दाबी गर्नुभएको छ । “मैले त्यो जग्गा २०७१ मा नौले साउदबाट १४ धुर भनेर १४ लाखमा किनेकी थिएँ तर पछि नाप्दा ६ धुर मात्र देखिएपनि नगरपालिकाले त जग्गै हडपेर सडक बनाइदिएको रहेछ,” उहाँले भन्नुभयो, “एक वर्षअघि नै नगरपालिका, ईलाका प्रशासन, ईलाका प्रहरी कार्यालयमा निवेदन दिएकी थिएँ तर अहिलेसम्म कुनै सुनुवाइ हुन सकेन ।”

धेरै जग्गा भए त सडकका लागि दिन सकिने भएता पनि ६ धुर मात्र भएकाले नगरपालिकाले त्यही कुनियतका साथ कब्जा गरेर सडक बनाउदा आफु अन्यायमा परेको उहाँको भनाई छ । कानुनी प्रक्रियामा जादासमेत न्याय नपाएको बताउदै अब सम्बन्धित निकायमा जानकारी गराएरै सडकमा डोजर चलाएर आफ्नो जग्गा भोगचलन गर्न बाध्य हुने जग्गाधनी साउदले चेतावनी दिनुभएको छ । “धेरै जग्गा भए त सार्वजनिक सडकका लागि दिन सकिन्थ्यो तर जम्मा ६ धुर जग्गा थ्यो तैपनि नगरपालिकाले कुनियतका साथ कब्जा गरेर सडक बनायो,” साउदले भन्नुभयो, “कानुनी प्रक्रियामा जादासमेत न्याय पाइएन अब सम्बन्धित निकायलाई जानकारी गराएर आफ्नो जग्गामा बनेको सडकमा डोजर चलाउनुपर्ने अवस्था आएको छ ।”

व्यक्तिगत जग्गामा सडक बनाएर कालोपत्रे गरेको विषयमा वडा नं. ४ का वडाध्यक्ष लालबिर चौधरीले यसलाई पिडितसहित नगरपालिकाका जनप्रतिनिधि, सम्बन्धित अन्य सबैको छलफलबाट यो समस्याको विकल्प खोज्नुपर्ने बताउनुभयो । उहाँले कालोपत्रे गरिएको सडक धेरै पहिल्यैदेखि बाटोकै रुपमा चलिआएकाले कालोपत्रे गरिएको दाबी गर्दै उक्त सडककै छेउछाउको अन्य जग्गा दिएर पनि समस्या समाधान गर्न सकिने बताउनुभयो । “यो समस्याको विकल्प भनेको पिडित पक्ष, जनप्रतिनिधिसहित सम्बन्धित अन्यको छलफलबाट मात्र निस्कन सक्छ,” उहाँले भन्नुभयो, “व्यक्तिको जग्गामा सडक अहिले बनाइएको होइन त्यो धेरै पहिल्यैदेखि चलिआएकाले कालोपत्रे गरेका हौं ।”

नगरपालिकामा उपप्रमुख मातहत न्यायिक समिती हुने र उक्त समितिमार्फत छलफल गरेर समस्याको हल गर्नुपर्ने बताउदै पिडितलाई उपमेयरसँग भेटेर छलफल गरौं भन्दा पिडित साउद भोलि भोलि भन्दै नआएको उहाँले दाबी गर्नुभयो । यो समस्याको मुख्य दोषी जग्गा बेच्ने नौले साउद रहेको दाबी गर्दै उनलाई समेत छलफलमा राख्नुपर्ने बताउनुभयो । “नगरपालिकामा उपमेयर मातहत न्यायिक समिती छ, यस्ता मुद्दामा उसैले छानबिन, छलफल गरेर निर्णय गर्ने भएकाले पिडितसँग उपमेयरसँग भेटेरै छलफल गरौं भन्दा उहाँ भोलि भोलि भन्दै आउनुभएन,” वडाध्यक्ष चौधरी भन्नुभयो, “अहिलेको पिडितलाई जग्गा बेच्ने नौले साउद यसको मुख्य दोषी हुन, उनले सडकमा रहेको जग्गा बेचेकाले छलफलमा उनलाई पनि बोलाउनुपर्ने हुन्छ ।”

तर वडाध्यक्ष चौधरीले भनेजस्तो अहिलेको सडक नै पहिल्यैदेखी चलनचल्तीमा रहेको स्थलगत रिपोर्टिङबाट देखिएको छैन । पहिलेको सडक हालको सडकभन्दा बायाँ (वडा कार्यालयहुँदै बाघमारा जाँदा) रहेको देखिन्छ । साविकको उक्त सडक भने स्थानीयले प्रयोग गरिरहेका छन् । अहिले उक्त सडकमा पर्खाल, टौवा बनाइएका छन् ।

हाल बनाइएका सडकको दायाँ बायाँ १२ वटा प्लट बनाइएको छ । ३४६१ कित्ता नं. रहेको धनसिंह साउदको ४ कट्ठा जग्गा प्लटिङ गरिएको छैन । र पिडित साउदको भन्दा यता १४ धुरका दुईवटा प्लट छन् ।

amazed