शेयेर गर्नुहोस
यज्ञराज उपाध्याय, टीकापुर । टीकापुरमा मेडिकल कलेज खोल्न दिन भारतको उत्तर प्रदेशस्थित लखनउमा रहेको वेलसन मेडिसिटी हस्पिटललाई सैद्धान्तिक सहमति भएको पत्र पठाइएको छ ।
टीकापुर नगरपालिकाले बिहीबार राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, पत्रकार र उक्त मिडिसिटी हस्पिटलका तर्फबाट प्रस्ताव ल्याएर आएका प्रतिनिधि हर्क स्वारबीच छलफल भएको थियो । नगरप्रमुख रामलाल डगौरा थारुले भारतको मेडिसिटी कलेजले टीकापुरमा मेडिकल कलेज खोल्न १५ बिघा जग्गा माग भएकोले सबैको राय बुझ्न र के गर्ने भन्ने विषयमा छलफलका लागि बोलाइएको बताउनुभयो ।
छलफलको सुरुवातमा स्वारले वेलसन मेडिसिटीले नेपालमा मेडिकल कलेज खोल्न चाहेकाले आफुले शिक्षामा पिछडिएको र सुदूरपश्चिममै मेडिकल कलेज नरहेको भन्दै यता खोल्नुपर्ने सुझाव दिएकाले टीकापुरलाई प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले सबैको रायपछी सैद्धान्तिक सहमति भएपछी नगरपालिकाले हुन्छ भन्ने पत्र हस्पिटललाई पठाएपछि उताको टिम आएर फेरि छलफल हुने बताउनुभयो । “वेलसन मेडिसिटिले नेपालमा मेडिकल कलेज खोल्न चाहेको छ । त्यसैले शिक्षामा सुदूरपश्चिम पछाडी भएको र यहाँ मेडिकल कलेजसमेत नभएकाले टीकापुरलाई प्राथमिकतामा राखिएको हो,” उहाँले भन्नुभयो, “सबैले सैद्धान्तिक सहमति जनाएपछी नगरपालिका उता सहमत रहेको पठाउनुपर्ने हुन्छ अनि त्यताबाट १० जनाको टिम आएर अध्ययन गर्छ र फेरि छलफल हुन्छ ।”
व्यापारिक प्रयोजनका लागि निजि कम्पनीको रुपमा स्थापना हुन लागेकाले यसका विषयमा पुर्णरुपमा स्पष्ट हुनुपर्ने विषयमा राजनीतिक दलका प्रतिनिधिले विचार व्यक्त गर्नुभएको थियो । सैद्धान्तिक सहमति गर्दैमा कलेज बनिनहाल्ने भएकाले सहमति गरे आफ्नो ठाउँको सम्भाव्यतासमेत थाहा हुने केहीको विचार राख्नुभएको थियो ।
नेकपा (एकीकृत समाजवादी) नगर कमिटी अध्यक्ष रंग अधिकारीले विगतका अभ्यासहरुलाई हेरेर कुरा मात्र भन्दा पनि काम गर्ने गरि निर्णय लिनुपर्ने बताउनुभयो । उहाँले वेलसनसँग मेडिकल कलेज चलाउन मिल्ने अनुमति भए नभएको, विदेशी कम्पनीलाई नेपालमा सञ्चालनका लागि अनुमति दिन मिल्ने-नमिल्ने भन्ने विषयमा अध्ययन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । एउटा कम्पनी आउने जग्गा माग्ने, अर्को कम्पनी आउला जग्गा माग्ला यसरी कतिलाई जग्गा दिन सकिएला भन्दै कम्पनीले आफ्ना सबै आधिकारिक विवरण पेश गर्नुपर्ने बताउनुभयो । “विगतका अभ्यासहरुलाई हेरेर निर्णय लिदा राम्रो होला, कुरा मात्र गर्ने तर पछि हराउने कम्पनी नेपालमा धेरै आएर गएका छन,’ उहाँले भन्नुभयो, “वेलसनसँग मेडिकल कलेज खोल्ने अनुमति छ कि छैन, विदेशी कम्पनीलाई यहाँ सञ्चालन गर्न मिल्छ कि मिल्दैन हाम्रो स्थानीय सरकारले यसमा बढी अध्ययन गर्नुपर्छ र अर्को कुरा आज एउटा कम्पनीले जग्गा माग्यो, भोलि अर्कोले माग्ला यसरी कतिलाई जग्गा दिने त्यसैले कम्पनीले सबै आधिकारिक विवरण पेश गर्नुपर्छ ।”
त्यस्तै पत्रकार भुवनेश्वर अधिकारीले १५ बिघा जग्गामा मेडिकल कलेज चल्न सक्छ भने सुरुवाती चरणमा राजनीतिक दलहरुले सहमति गर्दा राम्रै हुने बताउनुभयो । जग्गा पनि लिजमा लिएर लिएर कम्पनी सरह सञ्चालन हुने भएपछी सबैले आफ्ना स्पष्ट धारणा राख्नुपर्ने भन्दै टीकापुरमा मेडिकल कलेज आउदा यो ठाउँको विकासको मार्ग खुल्ने अधिकारीको धारणा व्यक्त गर्नुभयो । “१५ बिघा जग्गामा मेडिकल कलेज चल्छ भने पहिलो चरणमा ओके भन्दिए हुन्छ,” उहाँले भन्नुभयो, “जग्गा लिजमा लिएर कम्पनी सञ्चालन हुने भएकाले आफ्नो विचार स्पष्ट राख्नुपर्छ सबैले र मेडिकल कलेज आएपछी विकासको मार्ग पनि खुल्छ ।”
राष्ट्रिय स्वतन्त्र पार्टीका नगर कमिटी सभापति ई. रबिन्द्र विष्टले मेडिकल कलेजको प्रस्ताव सुन्दा पहिलो चरणमा सैद्धान्तिक सहमति गर्दा राम्रो हुने बताउदै यदि टीकापुरमा सञ्चालन नभए पनि आगामी दिनका लागि सम्भाव्यता थाहा हुने धारणा राख्नुभयो । उहाँले टीकापुरमा मेडिकल कलेज आए उपचारकै लागि नेपालगन्ज लगायत बाहिरका अस्पताल जानुपर्ने समस्या अन्त्य हुने र टीकापुरमै दक्ष जनशक्ती उत्पादन गर्न सकिने बताउनुभयो । “प्रस्ताव सुन्दा पहिलो चरणमा हामी सबैले सैद्धान्तिक सहमति गर्दा राम्रो होला, यदि कलेज यहाँ सञ्चालन नभए पनि हामी आगामी दिनका लागि आफ्नो ठाउँको सम्भाव्यता थाहा हुनेछ,” उहाँले भन्नुभयो, “टीकापुरमै मेडिकल कलेज सञ्चालन भए उपचारकै लागि कहिले नेपालगन्ज कहिले कतै जानुपर्ने समस्या हल हुने र यतैबाट दक्ष जनशक्ति पनि उत्पादन गर्न सकिन्छ ।”
नेकपा एमालेका नगर अध्यक्ष ध्रुब खत्रीले आफ्नो पार्टी सैद्धान्तिक रुपमा सहमत भएको बताउनुभयो । उहाँले टीकापुर पछाडी परेकाले पनि यो प्रस्ताव राम्रो भएको बताउदै अहिले यहाँ कोहि पनि लगानी गर्नै नचाहने स्थिती बनेको र यस ठाउँका बारेमा नकारात्मक कुरा मात्र गरिने भएकाले पनि यो प्रस्तावमा सहमति भए नकारात्मक धारणा स्वत परास्त हुने बताउनुभयो । “हाम्रो पार्टी यस प्रस्तावमा सैद्धान्तिक सहमतिका लागि तयार छ र पुर्ण साथ दिन्छ,” उहाँले भन्नुभयो, “अहिले टीकापुरमा लगानी गर्न कोहि चाहन्छ, यस ठाउँका बारे नकारात्मक कुरा मात्र सुनिन्छन् त्यसैले पनि यस प्रस्ताव सहमति जनाएर यो काम भए ती नकारात्मक कुरा स्वत परास्त हुनेछन् ।”
सबै प्रतिनिधि सैद्धान्तिक सहमतिका लागि तयार भएपछी नगरपालिकाले बिहीबारनै उक्त हस्पिटललाई पत्र पठाएको छ । अबको केही दिनभित्र उताको टिम आउने र चित्त बुझे फेरि छलफल गरिने जनाइएको छ ।