शेयेर गर्नुहोस
यज्ञराज उपाध्याय, टीकापुर । टीकापुर नगरपालिका-१ ब्लक नं. ११ स्थित कृषि बजार (हाटबजार) मा धुलोले व्यापारी आजित बनेका छन् । खाली मैदानमा आफ्ना उत्पादन बिक्रीका लागि बसेका व्यापारीहरु उपभोक्ताको भिडले धुलो उड्न थालेपछि आजित बनेका हुन् । हप्तामा दुई दिन मंगलबार र शुक्रबार लाग्ने हाटबजारमा उपभोक्ताहरुको चाप बढ्न थालेपछि निकै धुलाम्मे हुन थालेपछि व्यापारीहरु यसको शिघ्र समाधान हुनुपर्ने मागसमेत राखिरहेको बताउछन् ।
ट्रस्टमा बस्ने व्यवसायीभन्दा खाली मैदानमा व्यापार थापेर बसेका व्यापारी धुलोले गर्दा मर्कामा परेको तरकारी बेच्न बसेकी सीता चौधरीले बताउनुभयो । उहाँले कृषि बजार व्यवस्थापन समितिले यो समस्या समाधानका लागि कुनै पहल नगरेको गुनासो गर्दै हल्का हल्का पानी हाल्दिन आग्रह गर्दासमेत बेवास्ता गरेको दुखेसो पोख्नुभयो । प्रत्येक व्यापारीबाट व्यवसाय अनुसार पैसा उठाएपनि त्यसको सदुपयोग हुन नसकेको गुनासो गर्दै त्यही उठाएको पैसाले यहाँको व्यवस्थापन गर्न सकिने बताउनुभयो । “ट्रस्टमा बसेर व्यापार गरिरहेकाहरुलाई धुलोले त्यति असर गरेको छैन तर हामी खाली मैदानमै बसेकाहरुलाई धेरै समस्या छ, दिक्क भइसक्यौं यो धुलोले,” उहाँले भन्नुभयो, “समितिले केही पहल गर्नुपर्थ्यो, पानी हाल्दिन आग्रह गर्दासमेत बेवास्ता गर्नुहुन्छ, प्रत्येक व्यापारीबाट रकम उठाउनुहुन्छ त्यसै पैसाले यहाँको व्यवस्थापन गर्नुपर्ने होनि ।”
हाटबजारमा ससानो होटल सञ्चालन गर्ने आशा चौधरीले यो धुलाम्मे हाटबजारमा दिनभरी काम गर्नुपर्ने बाध्यता रहेको बताउदै यसले रुघाखोकी लाग्ने, ज्वरो आउनेजस्ता समस्या देखिने बताउनुभयो । अलिकती कमाउने आशले धुलाम्मे हाटबजारमा काम गर्दा रोगको सिकार हुनुपरेको र उपभोक्ताहरु पनि अन्यत्र भन्दा यहाँ अलि सस्तो पाइने आशमा धुलो मिसिएको वस्तु, खानेकुरा उपभोग गर्न बाध्य रहेकाले उनीहरुको स्वास्थ्यमा पनि असर गर्ने बताउनुभयो । “यस्तो धुलाम्मे हाटबजारमा व्यापार गर्नुपर्ने बाध्यता हो, दुईचार पैसा कमाउने आशले विभिन्न रोगको सिकार भइरहेका छौं,” उहाँले भन्नुभयो, “उपभोक्ता पनि मर्कामा छन्, अन्यत्र भन्दा अलि सस्तो पाइने आशामा यहाँ आउछन् धुलो मिसिएका खानेकुरा, वस्तुहरु उपभोग गर्न बाध्य हुन्छन् यसले त उनीहरुको स्वास्थ्यमा पनि असर गर्छ नि ।”
उपभोक्ता सिर्जना कठायतले यस्तो धुलैधुलोले व्यापारी मात्र नभएर उपभोक्तामा पनि असर पर्ने भन्दै यसको तत्काल समस्या समाधान गर्नुपर्ने बताउनुभयो । यस्तो धुलैधुलो मिसिएका वस्तुहरु उपभोग गर्दा स्वास्थ्यमा विभिन्न आउने उहाँको भनाई छ । समिति, नगरपालिकाले हाटबजार लाग्ने अघिल्लो दिन साँझ, हाटबजार लाग्ने दिन बिहान पख पानी हाल्दिदा धुलो अलि कम हुने उहाँको सुझाव छ । उहाँले धुलो कम गर्न खाली मैदानमा ग्राभेल गर्दा यस्तो धुलो नउड्ने भएकाले यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । “यो धुलोले व्यापारीलाई मात्र हैन हामी उपभोक्तालाईसमेत असर गर्छ, हाम्रो स्वास्थ्य पनि बिग्रन्छ,” उहाँले भन्नुभयो, “बजार समिति, नगरपालिकाले यसको समाधान गर्नुपर्छ, हाटबजार लाग्ने दिनभन्दा अघिल्लो दिन र लाग्ने दिन बिहान पानी छर्किदिदा यति धुलो उड्थेन अनि यो खाली मैदानलाई ग्राभेल गरिदिदा यो समस्या समाधान हुन्थ्यो ।”
कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष जनक खड्काले हाटबजार सञ्चालनसम्बन्धमा नगरपालिकाले केही सहयोग नगरेकाले पनि यस्तो धुलाम्मे मैदानको व्यवस्थापन गर्न नसकेको भन्दै ग्राभेलका लागि बजेट माग गर्दासमेत बेवास्ता गरेको दुखेसो पोख्नुभयो । नगरपालिकाले आफू मातहत लिएर चलाउन चाहे पनि आफू तयार रहेको बताउदै नत्र हामीलाई यसको व्यवस्थापनमा सहयोग गरे नगरबासीमकै लागि राम्रो काम हुने बताउनुभयो । रसिदसहित रकम उठाइएको र त्यो बैंकमा जम्मा हुने गरेको बताउदै त्यसले एक जना कर्मचारी, कार्यालय व्यवस्थापन लगायत अन्यमै खर्च हुने गरेकोसमेत जानकारी दिनुभयो । “नगरपालिकाले यो कृषि बजार सञ्चालनका लागि हामीलाई केही समयोग गरेको छैन, त्यसैले पनि यस्तो धुलाम्मे मैदान व्यवस्थापन हुन नसकेको हो,” उहाँले भन्नुभयो, “नगरपालिकाले चाहन्छ भने आफू मातहत लिएरै चलाओस केही छैन नत्र यसको व्यवस्थापन गर्न सहयोग गरे आफ्नै नगरबासी खुशी हुन्थे । अनि व्यापारीबाट उठाइएको पैसाको सवालमा रसिदसहित उठाइएको पैसा बैंकमा जम्मा हुन्छ, त्यसैले एक जना कर्मचारी, कार्यालय व्यवस्थापन भइरहेको छ ।”
दुईवटा ट्रस्ट बनाएर २०७५ देखि सञ्चालनमा आएको कृषि बजारमा ७५ लाखको लगानीमा ६ ट्रस्ट बनाइएका छन् । एउटा ट्रस्टलाई कार्यालय, गोदाम बनाइएको छ । हाटबजारमा समयअनुसार व्यापारी आफ्ना उत्पादन बिक्री गर्न आइरहन्छन् । कहिले धेरै व्यापारी हुन्छ भने कहिले कम व्यापारी हुने गरेका छन् ।