शेयेर गर्नुहोस
काठमाडौं, ५ फागुन । गृह मन्त्रालयले प्रहरी समायोजन अघि बढाउन पाँच सदस्यीय समिति गठन गरेको छ । प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा समिति गठन गरेको गृह मन्त्रालयले विज्ञप्ति निकालेर जानकारी गराएको छ ।
प्रशासन माहाशाखामा प्रमुख तोकिएका छैनन् । अहिले सुरक्षा तथा समन्वय महाशाखा प्रमुख नारायणप्रसाद भट्टराईले प्रशासनको जिम्मेवारी पनि सम्हालेका छन्। समितिको सह–संयोजकमा मन्त्रालयका नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाका सहसचिव थानेश्वर गौतम, प्रहरी प्रधान कार्यालयका प्रहरी नायब महानिरीक्षक र मन्त्रालयका उपसचिव सदस्य छन् ।
मन्त्रालयका प्रहरी कर्मचारी प्रशासन शाखाका उपसचिव सदस्य–सचिव रहने गरी पाँच सदस्यीय समिति गठन गरेको विज्ञप्तिमा उल्लेख छ । कानुनअनुसार ‘प्रहरी कर्मचारी समायोजन समिति’ बनाएर समायोजन शुरु भएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
प्रहरी समायोजन ऐन–२०७६ बमोजिम नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरी सेवामा समायोजन गरी सङ्घीयता कार्यान्वयनलाई थप प्रभावकारी बनाउन काम भइरहेको मन्त्रालयले जनाएको छ । प्रदेश तहमा प्रहरी नहुँदा काम गर्न समस्या भइरहेको भन्दै सबै प्रदेश मुख्यमन्त्रीहरूले प्रहरी समायोजनका लागि दबाब दिँदै आएका छन् ।
















