१६ शैयाको सामुदायिक बहुउद्देश्यीय भवन नगरपालिकालाई हस्तान्तरण

शेयेर गर्नुहोस

यज्ञराज उपाध्याय, टीकापुर । कैलालीको टीकापुर नगरपालिका-१ मा निर्मित सामुदायिक बहुउद्देश्यीय भवन नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

नेपाल सरकार मातहतको खानेपानी तथा ढल व्यवस्थापन विभागका आयोजना निर्देशक रत्न प्रसाद लामिछानेले एक कार्यक्रमका बीच उक्त भवनको तालाचाबी नगरपालिकाका मेयर रामलाल डगौंरा थारुलाई हस्तान्तरण गरेका हुन् ।

भवन हस्तान्तरण तथा उद्घाटन कार्यक्रममा बोल्दै आयोजना निर्देशक लामिछानेले आफुले टीकापुरलाई माया गर्ने भएकाले टीकापुरमा पनि भवन निर्माण गरिएको बताए । उनले यो आयोजना खास कोरोना भाइरसको महामारीपछि विपद् व्यवस्थापनका लागि पुर्व तयारी गर्न सहज हुने उद्देश्यले सुरु गरिएको जानकारी दिए । कार्यक्रममा बोल्दै उनले जापान सरकारले आफ्ना जनताबाट प्राप्त करबाट गरेको सहयोग र एशियाली विकास बैंकको सहयोगमा नेपालभरी यो आयोजना सुरु गरिएकोसमेत स्पष्ट पारे ।

निर्देशक लामिछानेले कोभिड-१९ रेस्पोन्स आयोजना भएता पनि अहिले कोभिड महामारी कम हुँदै गएकाले यसलाई अन्य कामहरुमा पनि प्रयोग गर्न मिल्ने बताए । नगरपालिकालाई हस्तान्तरण गरिसकेपछी यसको राम्रो प्रयोग होस् भन्ने आफुले चाहेको बताउदै भवनमा अब एसी, ल्याब जोड्नुपर्ने काम बाँकी भएकाले बीचमा चाबी माग्न सकिनेसमेत जानकारी गराए ।

एशियाली विकास बैंक तथा जेएफपीआरको अनुदान सहयोगमा कोभिड-१९ रेस्पोन्स आयोजना मार्फत भवनको निर्माण गरिएको हो । आयोजना निर्देशक लामिछानेका अनुसार नेपाल भरी यस्ता २० वटा भवन निर्माण गरिएको छ ।

यस्तै कार्यक्रममा बोल्दै मेयर रामलाल डगौरा थारुले टीकापुरका लागि यो बहुउपयोगी आयोजना भएको भन्दै यसका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागसंगै अनुदान सहयोग गर्ने जापान सरकार र एशियाली विकास बैंकलाई धन्यवाद दिए । उनले अहिले कोरोना महामारी नभएका कारण थारु समुदायमा देखिएको सिकलसेल लगायत अन्य काममा भवनको राम्रो सदुपयोग गर्नेसमेत दाबी गरे । टीकापुरमा थुप्रै संघीय आयोजना सम्पन्न भएता पनि राम्रोसँग संचालन गर्न नसकेको बताउदै यो आफ्नो मुख्य समस्या भएको समेत बताए ।

यस्तै आयोजनासम्बन्धि प्रकाश पार्दै डाक्टर इन्जिनियर शंकर ढकालले यो खासमा विपद् पुर्व तयारी संरचना रहेको बताए । उनले कोभिड संगै इबोला, बाढी, पहिरो जस्ता विपद्को पुर्व तयारी होस भनेर यो बनाइएको बताए । कोरोना महामारीको समयमा पुर्व तयारी नहुँदा हजारौंको ज्यान गएको उनको भनाई छ । यो भवन १६ शैयासहितको सुविधासम्पन्न आइसोलेसन वार्ड भएको भन्दै यसमा सरुवा रोगका लागि विशिष्टीकृत व्यवस्था गरिएको ढकालले जानकारी दिए ।

उक्त भवन भित्र महिला, पुरुष छुट्टाछुट्टै गरि १६ शैया रहेका छन् । छुट्टाछुट्टै शौचालय, अपांगमैत्री लगायतको व्यवस्था गरिएको छ । भवनमा अब एसी र ल्याब जडानको काम बाँकी भएको जनाइएको छ ।

जन स्वास्थ्य निरीक्षक धर्म सिंह बटालाले सञ्चालन गरेको हस्तान्तरण तथा उद्घाटन कार्यक्रममा टीकापुर नगरपालिका-१ का वडा अध्यक्ष मोहन लुहारले स्वागत गरेको थिए । विभागका आयोजना निर्देशक लामिछानेले चाबी हस्तान्तरण गरेपछी मेयर डगौराले रिबन काटेर भवनको उद्घाटन गरेको थिए । कार्यक्रममा आयोजना तर्फका कर्मचारी, नगरपालिकाका कर्मचारी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

ताजा खबर

सौन्दर्यले भरिपूर्ण सुनदेवी ताल प्रचारप्रसारको अभावमा ओझेलमा

अछाममा रुखबाट लडेर महिलाको मृत्यु

amazed