शेयेर गर्नुहोस
यज्ञराज उपाध्याय । टीकापुर २० साउन,
टीकापुर नगरपालिका वडा नं. १ शक्तिनगर बस्ने ४३ वर्षीय मोतिराम डगौरा थारु आफ्नो पहिलेदेखिको मुटुरोगका कारण गत शनिबार गम्भीर बिरामी भए । केही दिनअगाडी मात्रै मृतकका २१ वर्षीय छोरा इश्वर चौधरीले अगाडी टीकापुर अस्पताल अनि त्यसपछि नेपालगन्जमा उपचार गराएर आएकोले यतिबेला छोराले अस्पताल भन्दा पनि आफुले मान्ने कृश्चियन धर्मका पास्टरकहाँ जाने निधो गरेर सुरुमा वडा नम्बर ४ स्थित बाघमाराका पास्टरकहाँ पुर्याए । बाघमाराका पास्टरले प्रार्थनाले सञ्चो नहुने आशय दिएपछि मृतकलाई वडा नम्बर १ स्थित गणेशपुर शिविरस्थित अन्दाजी २९ वर्षीय पास्टर दिपक चौधरीको घरमा लगियो ।
उक्त पास्टरले सातदिनसम्म प्रार्थना गर्दा सञ्चो भएर उठ्ने विश्वास दिलाएपछी मृतकका छोराले आफ्ना बुवालाई प्रार्थनाका लागि पास्टरकै घरमा राखे । रातभरि प्रार्थना गरियो । टीकापुर प्रहरीका अनुसार सोही राती मोतिरामको मृत्यु भैसकेको भएता पनि पास्टरको सञ्चो हुने दाबी भने हटेन । छोराले पनि बुवाको मृत्यु भैसकेको अट्कलसमेत लगाउन नसक्दा उनले पनि सञ्चो हुने विश्वास पालीरहे । आइतबार बिहान इश्वर आफ्नो घर गए र आमालाई पास्टरको घर पठाए ।
मृतककी श्रीमती पास्टरको घर पुग्दा पास्टरले एक झलक हेर्न दिने बाहेक राम्रोसँग मुख हेर्न नदिएको प्रहरीको भनाई छ । पास्टर चौधरीले प्रार्थनाकै आधारमा सञ्चो हुने भन्दै मृतकको नाडी छामेर प्रभुले उठाउनुहुने, सपनामा प्रभुको शक्ति देखिने लगायतका आश्वासन समेत दिए ।
प्रार्थना गर्न लागेको चारदिन हुँदासम्म मृतकको शव गन्हाउन लागिसकेको थियो तर पास्टर र मृतकका छोराले पसिनाको गन्ध आएको भन्दै टार्दै गए । अत्ति नै हुन लागेपछि मंगलबार स्थानीयले प्रहरीलाई खबर गरेपछि घटना बाहिर आयो र मोतिराम मरिसकेको भनेर सुझाउदा पनि छोराले भर्खर तीनचार दिन भएको र सात दिनसम्मको पाष्टरको भनाईप्रतिको विश्वासमा रहेरका छोरा इश्वरले अझै केही दिन बाँकी रहेको भन्दै शव निकाल्न मानेनन् । तर प्रहरीले गन्हाएको शवमा पर्फिम नामक औषधी छर्कदै बाहिर निकाल्यो ।
ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी मधुसूदन न्यौपानेले पाष्टरको विश्वासमा परेर मोतिरामको ज्यान गएको बताए । उनले शनिबार राती नै मरिसकेको मान्छे प्रार्थनाले बाच्ने छोराको विश्वास अझै नहटेकोसमेत जानकारी दिए ।
उनले पास्टर र छोरा दुबैलाई प्रहरी कार्यालयमा राखिएको जानकारी दिदै शवलाई अहिले टीकापुर अस्पताल राखिएको बताएका छन् । स्थानीयले भने अन्धविश्वासका कारण मोतिरामले ज्यान गुमाएको दाबी गरेका छन् ।