शेयेर गर्नुहोस
यज्ञराज उपाध्याय / टीकापुर, २१ साउन । विश्वभर फैलिएको कोरोना भाइरस महामारीलाई मध्यनजर गर्दै नेपाल सरकारले गत चैत ११ गतेदेखि लगाएको लकडाउनका कारण कैलालीको दक्षिण पुर्वी सहर टीकापुरमा पनि सामान्य–तया अन्यत्र जस्तै प्रभाव परेको छ ।
लामो समयसम्मको लकडाउनले व्यवसाय, शिक्षा, यातायात लगायत सबै क्षेत्र बन्द हुँदा धेरैको आर्थिक अवस्थासमेत कमजोर हुनुका साथै धेरैको दानापानी नै बन्द भएको छ ।
तरपनि भारतसँग प्रत्यक्ष सिमा जोडिएको टीकापुरमा लकडाउन पश्चातको अवस्था सुधारोन्मुख देखिन्छ । यस क्षेत्रका नागरिक आफ्नो स्थानीय बजारभन्दा पनि भारतको तिकुनियाँ बजारमा बढी निर्भर हुने गर्नाले बर्षौंदेखि टीकापुरमा व्यवसाय खस्किदै गएको थियो ।
सरकारले लकडाउन हटाएतापनि अन्तर्राष्ट्रिय नाका अझै नखोलेका कारण अन्य क्षेत्र भन्दा पनि टीकापुर व्यापार भने फस्टाएको देखिन्छ ।
उता नेपाल भारत सीमानाको भारतीय तिकुनियाँ बजारमा नेपाली ग्राहकको अनुपस्थितिले बजारनै बन्द गर्नुपर्ने अवस्था आएको तिकुनियाँका एक व्यवसायीले बताए ।
उनका अनुसार तिकुनियाँका स्थानीय ग्राहक भन्दा टीकापुर क्षेत्रका ग्राहकको बढी चहलपहल हुने बजारमा अहिले ग्राहकको उपस्थिति न्यून देखिएको छ ।
दैनिक नेपाली ग्राहकको बाक्लो उपस्थितिलाई सम्हाल्न हम्मेहम्मे पर्ने तिकुनियाँका केही व्यवसायी आफ्नो व्यवसाय नै बन्द गरेर दिनभरी सुत्नुपरेको अवस्था समेत आएको छ ।
टीकापुरको प्रकाश मोबाइल ग्यालेरीका सञ्चालक प्रकाश तिरुवाले टीकापुरमा व्यापारको अवस्था निकै नाजुक देखेको बताउदै अहिले भने केही हदसम्म राम्रो हुँदै गएको बताए ।
‘लकडाउन अगाडी टीकापुर बजारमा कोहि ग्राहक नै आउदैनन् कि जस्तो महसुस पनि हुन्थ्यो कहिलेकाहीँ, उनले थपे,’ तर लकडाउनमा सबै भारतसँगका सिमानाकाहरु बन्द भएपछि स्थानीय ग्राहकले स्थानीय बजार नै प्रयोग गर्दा अवस्था केही राम्रो देखिएको छ ।
“व्यवसायी तिरुवाले यहि अवस्था रहिरहन अबका दिनमा सबभन्दा पहिला भन्सारमा चेकजाँचमा कडाइ गरिनुपर्ने र भन्सार बिना मालसामान ओसारपसार गर्नेलाई कारबाही गर्दा ग्राहक केही सचेत हुने बताए । उनले गैरकानुनी रुपमा भारतीय बजारबाट सामान भन्सार नतिरेरै ल्याउने बानीका कारण यताको व्यापार कम र भारतीय बजारको व्यापार बढी भएको समेत दाबी गरे ।
त्यस्तै टीकापुरमै लामो समयदेखि किराना व्यवसाय गर्दै आइरहेका तुलसी इन्टरप्राइजेजका सञ्चालक खगेन्द्र कोइरालाले लकडाउन पश्चात् टीकापुरमा खुद्रा व्यापार बढेको बताए । ‘लकडाउनअघि पहिले खुर्सानी किन्नपरे तिकुनिया, चिनी, चामल, आलु, साबुन, सोडा जे किन्न नि तिकुनियाको बजार प्रयोग गर्ने ग्राहक अहिले आफ्नै स्थानीय बजारको प्रयोग गरिरहदा खुद्रा व्यापार बढेको छ,’उनले भने, ‘पहिले खुद्रा भन्दा होलसेल व्यापार बढी हुने गरेकोमा त्यति नाफा हुन्थेन तर अहिले होलसेल भन्दा खुद्रा व्यापार बढी हुँदा टीकापुरको अहिलेको व्यवसायको अवस्था राम्रो छ ।’ उनले पहिले त टीकापुरमा फिटिक्कै व्यापार नहुने गरेको समेत दाबी गरे ।
टीकापुर उद्योग बाणिज्य संघका पुर्व सदस्य एवं टीकापुरको दिप इलेक्ट्रोनिक्सका सञ्चालक लोकेन्द्र मल्लले पनि पहिलेको तुलनामा टीकापुरको व्यवसाय फस्टाएको बताए ।
उनले कोरोनाका कारण धेरै मान्छे बजार आउन डराइरहेको भन्दै अहिले बजारमा नागरिकको चहलपहल निकै राम्रो रहेको दाबी समेत गरे ।
‘कोरोनाका कारण अझै धेरै मान्छेहरु बजार आउन डराइ रहेका छन,’ उनले थपे, तरपनि अहिले बजारमा स्थानीय नागरिक को उपस्थिति निकै राम्रो छ । उनी टीकापुरको व्यवसायको सुधार गर्न र स्थानीय ग्राहक स्थानीय बजारमै ल्याउन संघको सदस्य हुदादेखी नै प्रयासरत रहेकाले पनि अहिलेको अवस्था देखि खुशी देखिन्छन तरपनि जसरी अन्तर्राष्ट्रिय नाका खुल्छन त्यसपछि पुनः टीकापुरको अवस्था पहिलेझैँ हुन्छ कि भन्ने डरमा समेत देखिन्छन् ।
व्यवसायी मल्लले भने, “एउटाको व्यापार मात्र भन्दा पनि सबै व्यापारीको व्यापार राम्रो हुनुपर्छ तर नाका खुलेपछि टीकापुरको अवस्था पहिलेझैं हुन्छ कि भन्ने डर छ ।’’