शेयेर गर्नुहोस
धनगढी । नेकपा एकीकृत समाजावदीका अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालले सुदूरपश्चिम प्रदेशको संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई फोन गरेका छन् ।
प्रदेश सरकार गठनको सन्दर्भमा केन्द्रीय गठबन्धनको निर्णयविपरीत संसदीय दल विभाजन हुन लागेपछि अध्यक्ष नेपालले संसदीय दलका नेता सोडारीलाई फोन गरेर गठबन्धनको निर्णय विपरीत नजान चेतावनी दिएका हुन् ।
एकीकृत समाजवादीका सांसद प्रकाश रावलले अध्यक्ष नेपाल र महासचिव भुसालले फोनमार्फत कांग्रेस नेतृत्वको वैकल्पिक गठबन्धनतिर नलाग्न निर्देशन दिएको बताए । “उहाँहरूले गठबन्धनमा भएको सहमति पालना गर्नु र कांग्रेसतिर नलाग्नु भन्ने सुझाव दिनुभएको छ, उहाँहरूले संसदीय दलका नेतालाई फोन गर्नुभएको थियो,” उनले भने ।
त्यसो त सोडारी आफैँ मुख्यमन्त्रीको आकाङ्क्क्षी हुन् । केन्द्रीय गठबन्धनमा सुदूरपश्चिम सरकारको नेतृत्व एकीकृत समाजवादी गर्ने भन्ने सहमति जुटेको थियो । तर, अन्तिममा केन्द्रीय गठबन्धनभित्रै नागरिक उन्मुक्ति पार्टी (नाउपा) लाई दिने समझदारी बन्यो ।
यसपछि मुख्यमन्त्री बन्ने सपना देखेका सोडारीले नाउपाको रेशम चौधरी पक्ष र नेपाली कांग्रेसलाई साथ दिन लागेका थिए । सोडारीले रेशम पक्षीय लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्रीमा समर्थन गर्ने गरी दाबी पेस पत्रमा हस्ताक्षरसमेत गरेका छन् ।