शेयेर गर्नुहोस
यज्ञराज उपाध्याय / टीकापुर । प्रहरी चौकी कालाकुन्डाले शनिबार राती अवैध रुपमा भारत निर्यात हुन लागेको साढे चार क्विन्टल(नौ बोरा) सेतो केराउ बरामद गरेको छ ।
टीकापुर नगरपालिका वडा नम्बर ७ खैरझालाघाट नजिकै खेतमा नौ बोरा अर्थात लगभग साढे चार सय किलो केराउ बरामद गरेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बमले जानकारी दिए । रातको समयमा तस्करी हुन लागेको केराउसहित पाँचवटा साइकलसमेत बरामद भएको र तस्करीमा संलग्न मान्छे भने भागि सकेकाले पक्रन नसकेको उनले बताए ।
प्रहरी चौकी कालाकुन्डाका प्रमुख असई भिम विकले रातको समयमा गस्ती गर्ने क्रममा केराउ बरामद भएको बताए । उनले अँध्यारो भएकाले तस्करहरु भाग्न सफल भएको बताउदै उनीहरुको खोजी भैरहेको जानकारी दिए । बरामद केराउ र साइकल आइतबार नै सत्ती भन्सार कार्यालयमा बुझाइसकेको उनले बताए ।
भारतबाट नजिकै रहेको यस ठाउँमा यस्ता तस्करीका घटना नयाँ होइनन् । भारतपट्टि सानो गाउँसमेत रहेकाले जसोतसो यताबाट पारी सामान निर्यात गर्ने गरिएको श्रोतको दाबी छ । श्रोतका अनुसार विगतदेखी यसरी नै धमाधम तस्करी गरेर अहिले मालामाल भइसकेकाहरु पनि धेरै रहेका छन् ।
एक स्थानीयका अनुसार प्रहरी नै उनीहरुको रक्षक हो । कमिसन को कुरा नमिलेपछि प्रहरीले पक्राउको नाटक गर्ने गरेको उनको दाबी छ । हप्तामा तीनचार दिन हुने यस्ता तस्करीका घटना मा प्रत्यक्ष, अप्रत्यक्ष रुपमा प्रहरी को मात्र नभएर केही नेताको समेत संलग्नता रहेको हुनसक्ने उनको भनाई छ । नाम नखुलाउने सर्तमा उनले रातिको समयमा हुने यस्ता तस्करी मा कसैले प्रहरीलाई खबर गरिहाले पनि प्रहरीले केही वास्ता नगर्ने बताएका छन् । उनले सशस्त्र प्रहरीले पनि यस्ता हर्कत गर्ने गरेको दाबी गरेका छन् ।
यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी मधुसूदन न्यौपानेले यदि त्यस्तो भएको समयमा स्थानीयले आफुलाई गोप्य जानकारी दिन स्थानीय कै अगाडी प्रहरीलाई कारबाही गर्ने र सामान संगै त्यस्तो प्रहरीलाई भन्सार बुझाउने बताए । उनले त्यहाँ एउटा मात्र प्रहरी संगठनका अधिकारी नभएर सशस्त्र प्रहरीको बिओपीसंगै एसपी, डिआईजी लगायत धेरैका घुमुवासमेत हिडिराख्ने भएकाले सबैलाई आफुतिर लिएर त्यस्तो गर्न त असम्भव हुनुपर्ने बताए । यो बरामद अरुले भन्दा पनि आफ्नो टोलिले गरेको डिएसपी न्यौपानेले दाबी गरे ।
यता प्रहरी चौकी कालाकुन्डा का प्रमुख असई विकले केराउ बरामद आफैले गरेको बताउदै जनगुनासो आउनु सामान्य रहेको तर आफुले कसैबाट केही पैसा खाने काम नगरेको दाबी गरे । एउटाको अर्कोतिर पोख्न वा अन्य कारणले पनि केही मान्छेले आरोप लगाउने गरेकाले त्यो सत्य नभएको उनको भनाई छ ।
श्रोतले उक्त केराउ बरामद क्षेत्रीय घुमुवाले गरेको भन्नेसमेत जानकारी दिएको छ तर यता ईलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुन्डा आ–आफुले बरामद गरेको दाबी गरिरहेका छन ।
ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख न्यौपानेले धेरै ठाउँबाट धेरै कुराहरु आउने गरेकाले गस्तीका लागि आफुले पठाएको टोलिले केराउ बरामद गरेको बताएका हुन् । खैर, यसरी रातको समयमा तस्करी हुन लागेको केराउ बरामद गरिएपछि प्रहरीको सक्रियता राम्रो रहेको स्थानीयको भनाई छ ।
यस्तै सक्रियता भइरहे राम्रो हुँदै जाने स्थानीयको भनाई छ तर केहि प्रहरीकै मिलोमतोमा यस्ता घटना हुने गरेको भन्दै स्थानीय दिक्क भएका देखिन्छन् ।