शेयेर गर्नुहोस
गोदावरी । कैलालीमा नेकपा माओवादी केन्द्रबाट एमालेमा गएका दर्जनौं नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन् ।
जिल्लाको गोदावरी नगरपालिका–२ का नगर कमिटी सदस्य लगायत ४६ जना संगठित सदस्यहरुले एमाले भएर बस्दा आफूहरु पटकपटक अपमानित हुनुपरेको भन्दै नगर कमिटी अध्यक्ष समक्ष राजीनामा गरेका हुन् ।
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेपछि आफ्ना नेता लेखराज भट्टसँगै एमालेमा गएकोमा आपसी लडाईका कारण टिक्न नसकिने उनीहरुले लेखेको राजीनामा पत्रमा उल्लेख छ ।
उनीहरुले एमालेमा बस्दा पटक–पटक पूर्व माओवादीको रुपमा अपहेलना गर्ने काम मात्र भएको दाबी समेत गरेका छन् । अपहेलित भएर एमालेभित्र बस्न नसकिने भन्दै ४६ जना संगठित सदस्यले एकसाथ पार्टी परित्याग गरेका हुन् ।
एमाले भएर बस्दा राजनीतिको रूपमा पूर्व माओवादी भनेर अपहेलित हुनुपर्ने, मुल नेतृत्वकै विरुद्ध तलैसम्म गुटबन्दी गर्ने परम्पराभित्र अब बस्न नसकिने भन्दै उनीहरुले एकसाथ पार्टी परित्याग गरेका छन् ।
ती संगठित सदस्यहरुले पुनः माओवादीमै फर्किने समेत बताएका छन् । उनीहरुले तत्कालीन माओवादीले गरेको ठूलो क्रान्ति जनयुद्धलाई कसैले पनि इन्कार गर्न नसक्ने बताउँदै अहिलेको गणतन्त्र, संघीयता, समावेशिता सबै जनयुद्धकै जगमा आएको स्मरणसमेत गराएका छन् ।
गोदावरी नगरपालिका–२ कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ मा पर्छ। उक्त क्षेत्रबाट प्रतिनिधिसभातर्फ कांग्रेस उम्मेदवार वीरबहादुर बलायर विजयी भएका थिए । बलायर निकटतम् प्रतिस्पर्धी एमाले उम्मेदवार लेखराज भट्टलाई ३ हजार ५८४ मतान्तरले पराजित गर्दै विजयी भएका थिए । पूर्व माओवादीका नेता रहेका भट्ट नेकपा विभाजन हुँदा एमोलेमै बसेका थिए ।




