शेयेर गर्नुहोस
टीकापुर । सुदूरपश्चिम प्रदेशमा आज थप १६ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालमा भएको परीक्षणमा १६ जनामा संक्रमण पुष्टि भएको हो ।
शनिबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप १३ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा परिक्षण गरिएका ९०१ नमुनामध्ये १३ जनामा संक्रमण देखिएको हो ।
सेती प्रादेशिक अस्पतालका अनुसार आज थपिएका १३ जना सबै कैलालीका रहेका छन । असपतालका सुचनाअधिकारी दिलिपकुमार श्रेष्ठले ४ महिला र ९ जना पुरुषमा संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनले कैलालीको लम्कीचुहा नगरपालिकाका ३ महिला र ४ जना पुरुष, कैलारी गाउँपालिका वडा नम्बर ६ का ३ जना पुरुष, धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का एक महिला, वडा नम्बर १ का एक जना पुरुष र भजनी नगरपालिका वडा नम्बर ७ का एक जना पुरुष गरी १३ जनामा संक्रमण देखिएको बताए ।
उता डडेल्धुरामा परिक्षण गरिएका २३० नमुनामध्ये एकजनामा संक्रमण देखिएको छ । प्रयोगशालाका इन्चार्ज ईश्वरीप्रसाद भुसालका अनुसार गन्यापधुरा गाउँपालिका–१ का एक जनामा संक्रमण पुष्टि भएको हो । यस्तै डोटीमा ३० जनाको कोरोना परीक्षण भएकोमा एक जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सुदूरपश्चिम बाहिरको प्रयोगशालामा पनि कैलालीका एक जनामा कोरोना सैक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए । योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ५ हजार ३३१ पुगेको छ।