कैलाली कारागारभित्रै व्यवसायीको शंकास्पद मृत्यु, शरीरभरि निलडाम–घाउः सत्यतथ्य नखुल्दासम्म शव नउठाउने आफन्तको अडान

शेयेर गर्नुहोस

धनगढी । बैंकिङ कसुरमा पक्राउ परेका डडेल्धुरा भागेश्वर–५ का २८ वर्षीय व्यवसायी हरिश सिंह पालीको कैलाली जिल्ला कारागारभित्रै शंकास्पद मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा राखिएको शवमा निलडाम र चोटपटक भेटिएको छ । पालीका आफन्तहरुले कारागारभित्रै यातनाका कारण मृत्यु भएको भन्दै घटनाको निष्पक्ष छानबिनको माग गरेका छन् ।

पालीलाई केही दिनअघि डडेल्धुराबाट पक्राउ गरी कैलाली कारागारमा चलान गरिएको थियो । असार २ गते राति एक्कासी बिरामी भएको भन्दै सेती प्रादेशिक अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी प्रहरीले परिवारलाई ३ गते बिहान दिएका थिए । प्रहरीले विरामी भएर उपचारको क्रममा मृत्यु भएको बताएपनि आफन्तहरूले यो सामान्य मृत्यु नभई पूर्वनियोजित हत्या भएको दाबी गरेका छन् ।

मृतक पाली व्यवसायी हुन् । प्रहरी नायब निरीक्षक हरिजित नाथले दायर गरेको मुद्धामा दोषि ठहर भएर पाली केही वर्षपछि पक्राउ गरेका थिए । त्यसपछि पनि नाथले रकम माग्ने गरेको र २ गतेमात्रै ८५ हजार रुपैयाँ नाथकै खातामा पठाएको मृतकका काका पदम सिंह पालीले जानकारी दिए । नाथले भने ‘अदालतको फैसलामा रकम बुझाएपछि रिहा हुने भनेको हुँदा फैसला अनुसारको रकम बुझाउन पाली परिवारनै राजि भएको’ बताउँछन् ।

सई नाथको भारतीय व्यापारिसँग पनि सेटि हुनेगरेको र उनीहरुको फसेको पैसा नाथले उठाउन भूमिका खेल्ने गरेको पालीका आफन्तहरुको आरोप छ। ‘कारागार भित्र निर्मम याताना दिएर उनको मृत्यु भएको’ आफन्तहरुको भनाइ छ। ‘शरीरभरि घाउ र निलडाम छन् । यो सामान्य मृत्यु होइन, हत्या हो,’ पदमसिंहले भने ।

मृतकका भाई हिक्मतले पनि ‘घटना रहस्यमय भएको’ भन्दै सत्यतथ्य छानविनको माग गरेका बताएका छन् ।

सीसीटीभी फुटेज नदेखाएपछि थप आशंका
आफन्तहरूले कारागार प्रशासनसँग सीसीटीभी फुटेज माग्दा सुरुवातमा देखाउने भनिए पनि पछि ‘फुटेज बिग्रिएको’ भन्दै अस्वीकार गरिएको उनीहरुको आरोप छ । यसले घटनामा झनै शंका थपिएको आफन्तहरूको भनाइ छ । मृतकका परिवारले घटनाको निष्पक्ष छानबिन, दोषीलाई कारबाहीको माग गरेका छन् । न्याय सुनिश्चित नभएसम्म शव नउठाउने अडान उनीहरुले लिएका छन् । साथै उनीहरूले प्रहरी अधिकारीहरूमाथि अदालतमा मुद्दा दर्ता गर्ने तयारी पनि गरेका छन् ।

मृतकका श्रीमती र एक छोरा रहेका छन् । (यो समाचार पश्चिम टुडे बाट लिइएको हो ।)

amazed